पूर्वाधार वाच, काठमाडौं ।
शिक्षासेवी तथा साहित्यकार हेमचन्द्र पोखरेलका प्रकाशित र अप्रकाशित साहित्यिक सिर्जना समेटिएको कृति ‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ सार्वजनिक गरिएको छ । धनकुटेली समागम, काठमाडौंको आयोजनामा शनिबार २०८३ मंसिर ५ गते काठमाडौंको कान्तिपथस्थित यल्लो पेगोडा होटलमा आयोजित समारोहमा कृति सार्वजनिक गरिएको हो ।
धीरकुमार श्रेष्ठको सम्पादन र भारती गौतमको अतिथि सम्पादनमा तयार भएको पुस्तकको सार्वजनिक कार्यक्रममा प्राध्यापक नारायण जोशीले अध्यक्षता गरेका थिए भने अग्रज साहित्यकार रमेश खकुरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा साहित्य, शिक्षा तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको उपस्थिति थियो ।
पोखरेलको योगदानको स्मरण
कार्यक्रममा प्रमुख अतिथि रमेश खकुरेलले हेमचन्द्र पोखरेलसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै उहाँको शैक्षिक, साहित्यिक तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए । पोखरेलको व्यक्तित्व र कृतित्वले नेपाली साहित्य तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको उनको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष प्रा. नारायण जोशीले पोखरेलसँगको ३५ वर्ष लामो सहकार्य र संगत स्मरण गर्दै उनका प्रकाशित तथा अप्रकाशित सिर्जनालाई संकलन गरेर पुस्तकका रूपमा अभिलेखीकरण गर्नु महत्वपूर्ण कार्य भएको बताए । उनले यस कार्यमा योगदान पुर्याउने सम्पादक धीरकुमार श्रेष्ठ र अतिथि सम्पादक भारती गौतमप्रति आभार व्यक्त गरे ।
कृतिका सम्पादक धीरकुमार श्रेष्ठले अक्षरका माध्यमबाट आफू हेमचन्द्र पोखरेलसँग जोडिएको उल्लेख गर्दै धनकुटामा रहेर शिक्षा र साहित्यको क्षेत्रमा उनले पुर्याएको योगदान अतुलनीय रहेको बताए । पोखरेलको योगदानबिना धनकुटाको शैक्षिक तथा साहित्यिक इतिहास पूर्ण नहुने उनको धारणा थियो ।
त्यस्तै, अतिथि सम्पादक भारती गौतमले पुस्तक र कार्यक्रममा सहभागी स्रष्टाहरूका माध्यमबाट आफ्ना पिता हेमचन्द्र पोखरेललाई पुनः भेटेको अनुभूति भएको बताइन् । उनले कृति प्रकाशनमा सहयोग गर्ने सम्पादक श्रेष्ठ तथा धनकुटेली समागमप्रति धन्यवाद व्यक्त गरिन् ।
साहित्यिक तथा संस्कृत सिर्जनामाथि चर्चा
कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले पुस्तकको सम्पादन प्रक्रियाबारे जानकारी गराएका थिए । प्रा.डा. जीवन अधिकारीले पोखरेलका संस्कृत रचनामाथि प्रकाश पारे भने प्रा.डा. गोविन्दराज भट्टराईले सम्पादित कृतिको साहित्यिक महत्त्वबारे आफ्नो धारणा राखेका थिए ।
यसैगरी, प्रा.डा. माधवप्रसाद पोखरेलले हेमचन्द्र पोखरेलसँग जोडिएका पुराना संस्मरण सुनाएका थिए । रेडियो नेपालका पूर्वनिर्देशक तथा धार्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटाले पोखरेलसँगका भेटघाट र सहकार्यका अनुभव सुनाउँदै उनका संस्कृत रचनासमेत वाचन गरेका थिए ।
पेन्सिल चित्र उपहार, कृति सार्वजनिक
समारोहमा उमेशचन्द्र अधिकारीले तयार पारेको हेमचन्द्र पोखरेलको पेन्सिल चित्र धनकुटेली समागमका अध्यक्ष प्रा. नारायण जोशीले कार्यक्रमकी प्रायोजक तथा अतिथि सम्पादक भारती गौतमलाई उपहारस्वरूप प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रा.डा. विनोद पोखरेलले गरेका थिए भने धनकुटेली समागमका संयोजक शशिशेखर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । निर्धारित कार्यक्रमअनुसार पोखरेलको तस्बिरमा माल्यार्पण, एक मिनेट मौनधारण, पुस्तक सार्वजनिक, अतिथिहरूको मन्तव्य तथा सामूहिक तस्बिर खिच्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
समारोहको समापन अध्यक्ष प्रा. नारायण जोशीले धन्यवाद मन्तव्यसहित गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरूलाई जलपान तथा पुस्तक वितरणसमेत गरिएको थियो ।
हेमचन्द्र पोखरेलका साहित्यिक सिर्जना, जीवन र योगदानलाई एकै ठाउँमा समेटिएको यस कृतिले उहाँको साहित्यिक तथा शैक्षिक योगदानको संरक्षण र अभिलेखीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी धनकुटाको शैक्षिक तथा साहित्यिक इतिहास बुझ्न चाहने पाठक र अनुसन्धानकर्ताका लागि पुस्तक उपयोगी हुने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्