काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए)प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पीआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रणले आगामी दशकमा कुन प्रकृतिका आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ ।
हाल नेपालमा करिब ४ हजार २०० मेगावाट विद्युत् उत्पादन क्षमता जडित छ । उत्पादनको ठूलो हिस्सा नदी प्रवाही आयोजनाबाट आउने भएकाले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन हुने मौसमी असन्तुलन छ । यसलाई व्यवस्थापन गर्न जलाशययुक्त, पम्प स्टोरेज र वैकल्पिक ऊर्जा स्रोतको विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
यसअघि १५ हजार मेगावाट उत्पादन लक्ष्यका आधारमा ऊर्जा मिश्रण निर्धारण गरिएको थियो । उक्त ढाँचामा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाहीको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्तको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको ५ देखि १० प्रतिशत कायम गरिएको थियो । सौर्य ऊर्जाका लागि पनि करिब १० प्रतिशत हिस्सा प्रस्ताव गरिएको थियो ।
२०७९ असारमा मन्त्रिपरिषद्ले नदी प्रवाही आयोजनाको हिस्सा बढाएर ४० देखि ४५ प्रतिशत पुर्याएपछि पीपीए प्रक्रियामा सोहीअनुसार व्यवस्था गरिएको थियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले १ हजार ५०० मेगावाटसम्मका नदी प्रवाही आयोजनाको पीपीए स्वीकृत गरेको थियो ।
तर गत आर्थिक वर्षको बजेटमार्फत नदी प्रवाही आयोजनामा ‘टेक एन्ड पे’ व्यवस्था लागू भएपछि पीपीए प्रक्रिया प्रभावित भयो । त्यसयता नदी प्रवाहीसँगै अर्धजलाशययुक्त आयोजनाको पीपीएसमेत रोकिएको छ ।
प्राधिकरणका अनुसार हालसम्म ४०४ नदी प्रवाही आयोजनासँग ६ हजार ७१३।४४ मेगावाट, ५१ अर्धजलाशययुक्त आयोजनासँग ४ हजार १८६.८१ मेगावाट र एउटा जलाशययुक्त आयोजनासँग १४० मेगावाट विद्युत् खरिद सम्झौता भएको छ । तर थप २८१ आयोजना गरी कुल १६ हजार ४२५।७७ मेगावाट क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन् ।
पीपीए नहुँदा निजी क्षेत्रका आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले विद्युत् बिक्रीको सुनिश्चितता खोज्ने भएकाले पीपीएलाई आयोजना निर्माणका लागि ऋण प्राप्त गर्ने प्रमुख आधार मानिन्छ । त्यसैले नयाँ ऊर्जा मिश्रणले पीपीएको बाटो खोल्ने मात्र नभई निजी क्षेत्रको लगानी र आयोजना निर्माणलाई समेत गति दिने अपेक्षा गरिएको छ ।
नयाँ ऊर्जा मिश्रणमा सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई पनि समेट्ने तयारी छ । जलविद्युत्मा अत्यधिक निर्भर रहँदा हिउँदमा उत्पादन घट्ने र माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले ऊर्जा स्रोत विविधीकरणलाई प्राथमिकता दिन लागिएको हो ।
विशेषगरी जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाले विद्युत् भण्डारण र मागअनुसार आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउन सक्छन् । सौर्य तथा वायु ऊर्जाको विकासले पनि उत्पादन प्रणालीमा विविधता थप्नेछ ।
३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै आन्तरिक खपत, प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापार विस्तार पनि चुनौतीपूर्ण छ । भारतसँगै बंगलादेशसम्म विद्युत् निर्यातको सम्भावना बढिरहेका बेला सन्तुलित ऊर्जा मिश्रणले वर्षायाम र हिउँद दुवैमा विद्युत् उपलब्धता व्यवस्थापन गर्दै निर्यातयोग्य ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्