images
images
images

सम्पत्ति शुद्धीकरणका महानिर्देशक भट्टराई र उपसचिव पोखरेलको ‘सेटिङ’, मुद्दा तामेलीमा राख्न करोडौंको ‘डिल’

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री कार्यालय मातहत हुने शक्तिशाली निकाय सम्पत्ति शुद्धीकरण विभागमा सरकार परिवर्तनसँगै महानिर्देशक कमल भट्टराई र उपसचिव शिव पोखरेल नयाँ खेल सुरु भएको छ ।

माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव एवं पुत्री गंगा दाहाललाई प्रभावमा पारी जेठ १४ गते विभागमा महानिर्देशक भए पनि सत्ता समीकरण फेरिएसँगै विभागका महानिर्देशक भट्टराई कुन बेला सरुवा हुने हो भन्दै धमाधम व्यापारीसँग पैसा उठाउने र अनुसन्धानमा रहेका फाइलहरू मिलाएर सफाइ दिनेदेखि तामेलीमा राख्ने काममा हात धोएर सक्रिय भएर लागिरहेका उच्च स्रोतको दाबी छ ।

उच्च स्राेतका अनुसार प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई ३ करोड रुपैयाँ बुझाइ अवधि नै नपुगेका विभागका तत्कालीन डीजी पुष्प शाहीलाई ९ महिनामै हटाएर विभागमा कमलप्रसाद भट्टराई महानिर्देशक बनेका हुन् । उनी विभागको डीजी भएसँगै अनुसन्धानमा रहेका र मुद्दाका तयारी अवस्थामा रहेका फाइल समेत अन्य अनुसन्धान अधिकृतबाट तानेर उपसचिव शिव पोखरेललाई दिएका हुन् ।

माओवादीसँग निकट रहेका व्यापारीहरू अजय सुमार्गी, मीनबहादुर गुरुङ, दीपक भट्ट, सुरेशकुमार साठी, केही मेडिकल व्यवसायी तथा २५ जना मारवाडी व्यवसायी र सुन व्यापारीहरूको फाइल हेर्ने जिम्मा पोखरेलका दिएका हुन् ।

विभागमा केही समय अघि कपाल रोप्ने डाक्टर उदीप श्रेष्ठको अकुत सम्पत्ति कमाएको विषयमा विभागमा उजुरी परेको थियो । त्यो उजुरी अनुसन्धानको क्रममै रहेकै अवस्थामा विभागमा डिजी बनेका भट्टराईले विना कारण अनुसन्धान गरिरहेका अधिकारीबाट फाइल खोसेर तीनै उपसचिव पोखरेललाई दिएका थिए  ।

माओवादीका निकट रहेका उपसचिव पोखरेललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको छोरी गंगा दाहाल र उनका श्रीमान् जीवन आचार्यको बलियो साथ रहँदै आएको छ । ‘म कर्मचारी मात्रै नभएर माओवादीको नेताको अन्नदाता र क्याडर पनि हुँ’ भनेर हुँकार गर्ने पोखरेल र गंगा दाहालको राम्रै उठबस रहेको पनि स्रोत बताउँछ ।

यतिसम्म कि २०८१ वैशाखमा ललितपुरको लविम मलमा एक फिल्मको रिलिज भएको दिनमा माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी सुपुत्री एवं स्वकीय सचिव गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको साथमा थिए डा. उदीप श्रेष्ठ ।

उनै श्रेष्ठले विभागमा परेको उजुरी मिलाउन विभागमा उपसचिव शिव पोखरेलसहित गंगा दाहाल र जीवन आचार्यसँग सोही मलमा भेट गराई लामो छलफल गरेका थिए ।

सोही क्रममा पर्यटन मन्त्रालयमा कार्यरत सहसचिव कमल प्रसाद भट्टराईलाई विभागमा ल्याउने र उनी विभागमा आएसँगै डा. श्रेष्ठको फाइल उपसचिव पोखरेलले हेर्ने र सबै अनुसन्धान पूरा भएको भनी फाइल तामेलीमा राख्ने योजना बुनेको थियो ।

सोही योजना अनुसार विभागमा सहसचिव भट्टराई जेठको दोस्रो साता विभागमा नियुक्त भने उनी डिजी बनेसँगै अनुसन्धान गरिरहेका अधिकृतबाट फाइल खोसेर तीनै उपसचिव पोखरेलले अहिले हेरिरहेका छन् ।

यसमा करोडौँ रकमको चलखेल र बार्गेनिङपछि मिल्ने र बन्द हुने अवस्थामा रहेको छ । विभागमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार डा. श्रेष्ठको ३० करोडको अवैध सम्पत्ति दाहाल पुत्री गंगा र ज्वाइँ जीवन आर्चायले लुकाएको र विभागमा परेको उजुरी मिलाउने जिम्मा लिएर विभागका कर्मचारीलाई अनावश्यक दुःख समेत दिएको बताएका छन् ।

पैसा र शक्तिको रवाफ दिने उपसचिव पोखरेल अहिले विभागको हर्ताकर्ता बनेका छन् । एक जना भट्टचन थरका व्यापारीको उजुरीमा करोडौँ रकम डिल गरी अनुसन्धान टुङ्गोमा पुर्‍याउन लागिपरेका उच्च स्राेतकाे दाबी छ । विभागमा भट्टराई महानिर्देशक भएर आएसँगै सोही फाइल पनि अन्य अनुसन्धान अधिकृतबाट खोसेर तीनै उपसचिव पोखरेललाई जिम्मा दिइएको छ । यस्ता अन्य दर्जनौं उदाहरण भएको विभागका अधिकारीहरूको भनाई छ ।

‘सामान्यतया विभागमा एक अधिकारीले अनुसन्धान गरेको फाइल टुंगो नलागेसम्म सोही व्यक्तिले हेर्ने प्रचलन छ, तर धमाधम विवाद र करोडौंको अवैध सम्पत्तिमा उजुरी परेका फाइलहरू धमाधम अनुसन्धान अधिकृतबाट खोसेर उपसचिव शिव पोखरेलले मात्रै जिम्मा पाउने उनको कस्तो विज्ञता हो ? डिजी साब र  उपसचिव पोखरेलको खेल के हो ? भन्नेमा सबैले सहज नै अनुमान लगाउन सक्नुहुन्छ’, विभागमा कार्यरत एक अधिकृतले भने ।

उपसचिव पोखरेल राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागदेखि महत्त्वपूर्ण र मालदार स्थानमा दरबन्दी कायम गराई बस्दै आएका छन् । राजस्व अनुसन्धान विभागमा कार्यरत रहेको समयमा उपसचिव पोखरेलले अरूको नाममा करोडौँ रकम उठाएका थिए ।

सो बारेमा त्यस समयमा विभागमा निकै ठुलो आतंक नै मच्चिएको थियो । सोही बारेमा २०७९ सालतिर पोखरेलले अकुत सम्पत्ति कमाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सम्पत्ति छानबिनमा परेका थिए । अहिले पनि अख्तियारमा छानबिन चलिरहेको र अन्तिम चरणमा रहेको अख्तियार स्रोतले जनाएको छ ।

को हुन् महानिर्देशक भट्टराई ?

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराई शक्ति र मालदार ठाउँमा रमाउने र कमाउने अधिकारीको रूपमा परिचित छन् ।

यसअघि उनी भन्सार विभागको महानिर्देशक, हङकङको महावाणिज्यदूत, पर्यटन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका प्रवक्तादेखि कर्मचारी प्रशासन महाशाखा प्रमुख, गोरखाको सिडिओ समेत भइसकेका हुन् । तर यत्ति महत्त्वपूर्ण निकायको जिम्मेवारी पाउँदा पनि उनले अहिलेसम्म राम्रो र देखिन काम गन्तीमा एउटा पनि नभएको बरु विवाद र आर्थिक मामिलामा फस्दै पूरा कार्यकाल बिताउन नसकेको अधिकारीको रूपमा सिंहदरबारमा परिचित छन् ।

आफ्नो फाइदाको लागि चाकडी र चाप्लुसीमा खप्पिस मानिएका भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारेर २०७८ फागुन २ मा भन्सार विभागको महानिर्देशक भए  । तत्कालीन भन्सार विभागका डीजी नारायण सापकोटालाई ६ महिनामै हटाएर भट्टराई  डिजी बनेका थिए ।

तर भन्सारका खरिदार, सुब्बादेखि अधिकृतको सरुवा र पदस्थापनमा पैसा लिएकोदेखि चामल आयातमा व्यापारीसँग पैसा असुलेको विषयमा  उनी विवादमा परेका थिए । जसका कारण ९ महिनामै विभागबाट हटेका थिए भने चक्रबहादुर बुढा महानिर्देशक भएका थिए ।

हङकङको महावाणिज्यदूत हुँदा व्यापारीसँग मिलेर हुन्डी कारोबारलाई सघाएको र आर्थिक फाइदा लिएको आरोप भट्टराईलाई लागेको थियो ।

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखामा हुँदा उपसचिव सरुवामा पैसा लिएको र आफ्नो भाइलाई वैदेशिक रोजगार विभागमा पदस्थापन गरेको विषयमा वाइसीएल कार्यकर्ताले उनीमाथि हातपात समेत गरेका थिए ।

सामान्य प्रशासनको सहसचिव हुँदा आर्थिक चलखेल गरी भट्टराईले सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चूडामणि चापागाईँको सरुवा बदर गरी भूमिव्यवस्था तथा सहकारी मन्त्रालयमा पदस्थापन गरेपछि निकै विवाद भएको थियो ।

तत्कालीन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको विश्वासपात्र भएका सहसचिव भट्टराईले कर्मचारी सरुवामा रकम नै तोकेर लिन थालेपछि माओवादी संयन्त्रभित्रै लेनदेनको विवाद सतहमा आउँदा २०८० चैत्र २९ गते प्रशासन महाशाखा प्रमुख भट्टराईमाथि हातपात भएको थियो ।

माओवादीका विश्वासिला कर्मचारीको रूपमा चिनिएका भट्टराई केपी ओली प्रधानमन्त्री भएसँगै ‘म पनि झापाकै हुँ, एमालेलाई हिजोदेखि सहयोग गर्दै आएको’ भन्दै एमालेका केही नेता तथा कार्यकर्तामार्फत प्रधानमन्त्री ओलीसँग नजिकिन खोजिरहेका स्राेत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्