पूर्वाधार वाच, काठमाडौं ।
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा भने मंगलबार सुनको भाउ प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।
मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्