दिल्लीको एउटा सडक छ, जसको नाम सुन्नासाथ मानिसहरूका आँखीभौँ तन्किहाल्छन् र उनीहरू मसिनो स्वरमा फुसफुसाउन थाल्छन्। जब एक पत्रकार त्यहाँ पुगिन्, उनले त्यहाँको जीवनका केही यस्ता दृश्य देखिन्।
– रीतू तोमर (आईएएनएस)
स्कुलमा जब पहिलो पटक मैले यसबारे सुनेकी थिएँ, तब उत्सुकता जाग्यो कि आखिर यो सडक कस्तो होला। फिल्महरूमा देखिएका कोठीहरू सम्झनामा आउन थाले। सम्झना आउँथ्यो पुरुषहरूलाई लोभ्याउने यौनकर्मीहरूको, शरीरको व्यापार चलाउने कोठीकी मालिक्नीहरूको र नजानिँदा अरू धेरै कुराहरू। यही उत्सुकताले यति वर्षपछि मलाई जीबी रोडसम्म तान्यो।
गएको आइतबार बिहान आठ बजे जब म जीबी रोड पुगेँ, यो सडक दिल्लीका अन्य सडकहरूजस्तै सामान्य नै देखिन्थ्यो। सडकका दुवैतर्फ पसलहरू बन्द थिए, सटरले ढाकिएका। यिनै पसलहरूको बीचबाट माथि जाने भर्याङहरू देखिन्थे, जसका भित्ताहरूमा लेखिएका नम्बरहरूले कोठीहरूको पहिचान गराउँथे। केही मानिसहरू सडकमा हिँडिरहेका थिए, कसै कसैले हामीलाई अचम्मित नजरले हेरिरहेका थिए। हामीले निर्णय गर्यौं- कोठी नम्बर ६० भित्र जाने।
एक एनजीओमा काम गर्ने आफ्ना मित्रसँगै छिट्टै भर्याङ चढ्दै म माथि पुगेँ। चारैतिर सन्नाटा थियो। सम्भवतः सबै सुतेका थिए। जब हामीले आवाज दियौं, तब थाहा भयो, हो, सबै नै सुतेका रहेछन्। त्यत्तिकैमा, अचम्मित नजरले हामीलाई घुरिरहेको एउटा मानिस बाहिर निस्कियो। धेरै अनुरोध गरेपछि बल्ल उनले आफू राजु (नाम परिवर्तन) भएको बताए। उनी विगत नौ वर्षदेखि यहाँ बसिरहेका छन् र केटीहरू (यौनकर्मीहरू)को दररेट तोक्ने काम गर्छन्।
पहिचान गोप्य राख्ने शर्तमा राजुले हाम्रो भेट एक यौनकर्मी सुष्मितासँग (नाम परिवर्तन) गराए, जसलाई निद्राबाट उठाइएको थियो। म सुष्मितासँग एक्लै कुराकानी गर्न चाहन्थेँ, तर राजुलाई शायद डर थियो कि कतै उसले त्यस्तो केही नबोल्दियोस्, जसलाई भन्न नपाइने आदेश दिइएको छ।

सुष्मिता २३ वर्षकी छिन्। तीन वर्षअघि रोजगारीको लोभ देखाएर पश्चिम बंगालबाट दिल्ली ल्याइएकी उनी यहाँ बेचिएकी रहिछन्। उनलाई हिन्दी राम्रोसँग बोल्न समेत आउँदैन।
उनी भन्छिन्, ‘मेरो परिवार धेरै गरिब छ। एक छिमेकी हाम्रो घर आउँथ्यो-जान्थ्यो। उसले भन्यो, ‘दिल्ली जाऔं, त्यहाँ धेरै काम छन्। त्यसपछि म ऊसँगै दिल्ली आएँ। पहिलो दिन मलाई कुनै कोठामा राखियो, अनि भोलिपल्ट यहाँ ल्याइयो।’
जब मैले सोधेँ, ‘के तिमी आफ्नो घर फर्कन चाहन्नौँ ?’ उनी निकैबेर चुप बसिरहिन्। त्यसपछि भनिन्, ‘छैन, घर जान सक्दिनँ। धेरै बाध्यताहरू छन्। यहाँ खान पाइन्छ, केही पैसा पनि पाइन्छ, जुन लुकाएर राख्नुपर्छ।’ सुष्मिता बीचैमा फिस्स हाँस्दै भनिन्, ‘कसैलाई नभन्नु है…’ त्यसपछि केही सोध्ने आँट नै आएन।
सुष्मिता उमेरले २३ वर्षकी भए पनि उनको शरीर १५/१६ वर्षकी किशोरीजस्तै लाग्थ्यो- दुब्लो-पातलो, कुपोषित।
घरको पहिलो र दोस्रो तलामा यौन व्यवसाय चल्छ । लाग्यो- यी कोठाहरूभित्र हेरूँ कि यहाँ कस्तो अवस्था छ। जब भित्र पसें, एक अजीव गन्धले नाक थुन्न बाध्य बनायो। कोठाहरू साँघुरा थिए, भित्ता ओसले भरिएका। सोच्न थालेँ- यहाँ कोही कसरी बस्न सक्छ ?
राजू भन्छन्, ‘एउटा कोठीमा १३/१४ जना सेक्स वर्करहरू छन्, र सबै आफ्नै इच्छाले यो काम गर्छन्।’ तर गीता (नाम परिवर्तन)को कुरा सुनेपछि लाग्यो- यो काम उनीहरु इच्छाले होइन, बाध्यताले गरिरहेका छन्।
गीता भन्छिन्, ‘जसरी तपाईं जागिर गरेर पैसा कमाउनुहुन्छ, हामी पनि यही हाम्रो जागिर ठान्छौं। तपाईं नै भन्नुस्, समाजमा हाम्रो के इज्जत छ ? हामीलाई जागिर दिने को छ ? शरीर बेचेरै हाम्रो घर चलिरहेको छ। छोरीलाई पढाइरहेकी छु। यो छोडेँ भने छोरीको भविष्य के हुन्छ ?”
गीताले एक वर्षमा तीन वटा कोठी बदलिसकेकी बताउँछिन्। ‘यदि पैसा राम्रो पाइँदैन भने कोठी त बदल्नै पर्छ, हैन र ?’, उनले भनिन् ।
गीताको साथी रेशमा (नाम परिवर्तन) भन्छिन्, ‘हामी जस्तो छौं, त्यस्तैमा खुसी छौं। सरकार हाम्रो लागि के गरिरहेकी छ ? हाम्रै कुनै परिचय छैन- न राशन कार्ड, न भोटर कार्ड, न आधार। हाम्रोमा त भोट माग्न कोही आउँदैन पनि। सरकारले हाम्रो लागि के गर्यो ? केही पनि छैन।’

जीबी रोडको पूरा नाम गारस्टिन बास्टियन रोड हो, जहाँ सय वर्ष पुराना भवनहरू पनि छन्। ठाउँ-ठाउँमा दलालहरूको फन्दामा नपर्नु र पकेटमार तथा गुण्डाहरूबाट सतर्क रहनु भन्ने चेतावनीयुक्त सन्देश समेत लेखिएका भेटिन्छन्।
राजू भन्छन्, ‘रातको ८ बजेपछि यहाँको माहौल नै बदलिन्छ। कोठीहरूमा आउनेहरूको संख्या बढ्न थाल्छ। एक्लै आउने मानिसलाई पकेटमारहरूले लुट्छन्, यहाँ चक्कु प्रहारका घटना पनि थुप्रै भएका छन्।’
यस्तै धेरै प्रश्नहरू मनमा खेलाउँदै म अर्को कोठीमा पुगेँ, जहाँ १५ देखि १९ वर्षसम्मका युवतीहरू भेटिए, जो रातभरको थकानपछि अबेरसम्म सुरिहेका थिए। यहाँ आएपछि यस्तो लाग्छ, यो शहरभित्र अर्को कुनै शहर छ।यहाँ ल्याइएका वा आफ्नै इच्छाले आइपुगेका यी महिलाहरूको जीवन नरकभन्दा कम छैन। म धेरै प्रश्नहरूका उत्तर नपाएर फर्किँदैछु, तर यस आशासहित कि फेरि फर्केर ती उत्तरहरू खोज्नेछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्