images
images
images

सुशील साह : संघर्षदेखि आत्मनिर्भरसम्म 

images

रिंकु दास, काठमाडौं । 

काठमाडौं शहर, हेर्दा लाग्छ रहर…, खै कसले र कहिलेदेखि सुरु भयो यो कथन ।  तर यो कथनमा भनिएझैँ काठमाडौं सुन्दर शहरसँगै सपनाको देख्नेहरूको समेत शहर हो भन्नेमा अधिकांशको दुई मत छैन ।

यस्ता अनेक सपनाहरूको भारी बोकेर यहाँ कोही पासपोर्ट समातेर म्यानपावर धाइरहेका भेटिन्छन् त कोही पिठ्यूँमा किताबका भारी बोकेर कलेज र विश्वविद्यालय धाइरहेका छन्  । र कोही भने जहान परिवार पाल्नकै लागि पौरख गर्दै पसिना बगाइरहेछन् ।

यस्तै संघर्ष गर्नेहरूको भिडमा झण्डै दुई साढे दुई अघि मिसिएका थिए, भारतको विहार राज्यस्थित दरभंगाका सुशील साह ।

घरको आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा पढ्न पाएनन् । बुबाबाहेक घरमा कमाउने अरू थिएनन् । तीन जना दाजुभाइ र एक जना दिदीको लालन पालनमा बुवा पिल्सिएका थिए ।

पारिवारिक ऋणको बोझ र आर्थिक संकटका कारण उनी सानै उमेरमा अरूको लहलहैमा लागेर भारतको संघीय राजधानी नयाँ दिल्ली हानिए र त्यहीँबाट सुरु भएको थियो उनको दुनियाँको संघर्ष ।

दिल्लीमा पुगेपछि उनले त्यहाँ एउटा बिका नेट नामक कम्पनीमा काम पाए। महिनाको आठ सय भारतीय रुपैयाँ तल र खाना बस्नको सुविधा पनि पाए । त्यहाँ जिन्दगी ठिकै चल्दै थियो ।

पछि उनलाई त्यहाँ काम गरिरहकै कम्पनीले नेपालको राजधानी काठमाडौं ल्याइ पुर्‍यायो । केही समय सोही कम्पनीमा काम गरे ।

उक्त कम्पनीमा काम छुटेपछि उनले लगातार पन्ध्र वर्षसम्म ‘आँगन मिठाई पसल’मा काम गरे। कमाई राम्रै थियो, परिवार तुलनात्मक रूपमा खुशी नै थियो ।

तर एकाएक उनको जिन्दगीमा दुःखको क्षण आइपुग्यो । उनले आफूलाई जन्मदिने आमालाई सधैंका लागि गुमाउनु पर्‍यो । त्यो खबर पाएपछि उनी भावनात्मक रूपमा निक्कै दुःखी त छँदै थिए, आफूले काम गर्ने कम्पनीले पनि बिदा नदिएपछि उन थप विक्षिप्त बने ।

उनी आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन पाएनन् । त्यही दिनदेखि उनको मनमा जागिरसँग वितृष्णा पलायो ।

‘यति लामो समय काम गरेर पसिना बगाएको कम्पनीले मलाई आमाको निधन हुँदा पनि अन्तिम संस्कारमा जान बिदा दिएन’, उनी भन्छन्, ‘त्यसपछि सोचे अब अरूकै भरमा बस्ने होइन, आफ्नो व्यवसाय गर्छु ।’

कम्पनीको उक्त व्यवहारले उनलाई निकै पीडा दियो, अन्ततः उनले जागिर नै छाड्ने निर्णय गरे । जागिर छाडेर आफ्नै व्यवसाय सुरु गर्न सजिलो पनि थिएन । तर उनले साथीहरूसँगको सल्लाह गरेर एउटा सानो कोठा लिएर र आफ्नै व्यवसाय सानो व्यवसाय सुरु गरे ।

त्यहाँ उनले पानी पुरी बनाउन थाले । सुरुमा विभिन्न पसलहरूमा पानी पुरी बनाएर सप्लाइ गरेँ, तर त्यो कामबाट खासै आम्दानी भएन। त्यसपछि उनले आफ्नै ठेला राखे। उनी सुनाउँछन् ।

आफैँले सुरु ठेला सुरु गरेपछि भने व्यवसायले गति लिन थाल्यो । ग्राहकरुले खुब मन पराए । दिनमै राम्रो रकम आम्दानी हुन थाल्यो ।

तर समय बित्दै जाँदा बजारमा प्रतिस्पर्धा बढ्यो, काठमाडौं महानगर पालिकाले सडकमा ठेला राखेर बेच्न नदिने भयो। पसलमा बिक्री नहुँदा कहिलेकाहीँ उनलाई पुनः सडकमा उभिएर घुम्ती रूपमा बेच्नुपर्ने बाध्यता थियो ।

तर पनि पानी पुरी व्यवसायले आज पनि उनको जिन्दगी राम्रै चलाइरहेको छ । त्यसैको आम्दानीले महिनामा २० हजार रुपैयाँ पसल भाडा तिर्छन् । परिवारलाई आरामसाथ पालिरहेको उनी बताउँछन् । उसो त सुरुमा पसल खोल्दा उनले नौं हजार रुपैयाँमा सानो सटर मात्र  भाँडामा लिएका थिए ।

सुरुमा सानै उमेरमा नेपाल छिरेका साहका हाल तीन छोरी र एक छोरा छन्। जेठी छोरीको विवाह भइसकेको छ, बाँकी दुई छोरी र छोरा पढिरहेका छन्। छोराछोरीको पढाइ खर्च, घर खर्च—सबै उनले यही व्यवसायबाट धानिरहेको बताउँछन् ।

पन्ध्र वर्षअघि जब उनले काम छाडेँ, त्यस बेला महिनाको आठ हजार तलब थियो। अहिले व्यवसाय गरेर राम्रो कमाइ हुन्छ, तर स्थिरता छैन। कहिलेकाहीँ पानी पुरी सडकमा बेच्नुपर्ने बाध्यता आउँछ।

उनी सुनाउँछन्, ‘किनकि पसलको बिक्रीले मात्र पसल भाडा पुग्दैन तिर्न गाह्रो छ। बाहिर बाध्य भएर बेच्नै पर्छ तर महानगर ले धेरै कडाइ गरेको छ बाहिर रोडमा बेच्न  दिँदैन, तर पसल भाडा तिर्न गाह्रो छ। त्यस कारण कहिलेकाहीँ बेच्नै पर्छ ।’

अहिले पनि सुशील साह जस्ता धेरै राजधानीमा संघर्ष गरिरहेका छन्। तर उनीहरूका लागि सरकारसँग कुनै योजना छैन। उनी भन्छन्, ‘हामी सानो व्यवसाय गरेर गुजारा चलाउन चाहन्छौँ, तर काठमाडौं महानगरपालिकाले  ठाउँ नै दिन्न। यदि सरकारले उचित स्थानको व्यवस्था गरिदिएको भए, हामीलाई यति सास्ती हुने थिएन।’

‘जीवन पैसाले चल्छ। पैसा भए मान्छेले आदर गर्छ, नभए परायाजस्तै व्यवहार गर्छ।’ साह थप्छन्, ‘यो दुनियाँ पैसा भएकासँग मात्र सम्बन्ध गाँस्छ।’

तर उनी निराश छैनन्।  ‘सानो भए पनि आफ्नै व्यवसाय गरिरहेछु। आफ्नै बलबुतामा परिवार पालिरहेछु।  यसमै गर्व गर्छु र यो नै मेरो लागि  गर्व को कुरा हो ।,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्