रिंकु दास, काठमाडौं ।
७० वर्षीय कुलदीप राय, जो आजसम्म पनि बिहान सबेरै उठेर काठमाडौंका गल्ली–गल्ली डुल्छन्, तर पैसा कमाउनको लागि होइन – फोहोर खोज्न। बोटल, फलाम, पुराना कापी–किताब, जे भेटिन्छ त्यही संकलन गर्छन् । यसरी नै धेरै कुराले थिचिएको जीन्दगीलाई अघि बढाइरहेका छन् ।
रौतहटको पिपरा–१ का कुलदीप ४० वर्षअघि काठमाडौं आए। गाउँमा अरूको खेतमा ज्यामीको काम गरे पनि दुई–चार सय रुपैयाँ र दुई छाक खान मात्र पाइन्थ्यो। परिवारको पेट पाल्न धौधौ पर्थ्यो ।
उनलाई त्यति मात्र काम काफी थिएन। आफ्नो खेत–जग्गा थिएन, सानोमा पढ्न पनि पाएका थिएनन्। तिनै जीवनका आरोह अवरोहबीच उनी जीवन बदल्ने सपना बोकेर राजधानी छिरे ।
सुरुमा काठमाडौं आएर बालाजुमा ५ वर्ष बसे । त्यसपछि नक्सालमा ५ वर्ष बसेपछि फेरि मैतीदेवीमा १० वर्ष बिताए । हाल उनी १८ वर्षदेखि अनामनगरमा कवाडीखानामा सानो डेरा बनाई बस्दै आएको बताउँछन् ।
गाउँमा ज्यामी काम गरेका राय काठमाडौं आएपछि फोहोर संकलन गर्ने काममा लागे- जुन उनको जीवनकै अभिन्न हिस्सा बन्न पुग्यो ।
‘घर–घरमा पुगेँ, फोहोर मागेँ, संकलन गरेँ’
कुलदीप हरेक दिन अनामनगरस्थित डेराबाट बिहानै निस्कन्छन् । घर–घर पुग्छन्, पुराना कापी, किताब, बोतल, फलाम- जेजे भेट्छन् जम्मा पार्छन् र आफू बस्दै आएको अनामनगरको कवाडीमा ती सामान बिक्री गर्छन्।
त्यही कवाडी पसलका मालिकले उनलाई सानो जस्ताको छानावाला टहरो बनाएर निःशुल्क बस्ने व्यवस्था मिलाइदिएका छन्। कारण-कुलदीपले घर–घर पुगेर फोहोर संकलन गरेर तिनै मालिकको पसलमा पुर्याउँछन्। मालिकलाई पनि फाइदा, कुलदीपलाई पनि जीवन चलाउने आधार।
‘धेरैपटक पानी पर्दा डेरामा पानी पस्यो, लुगा, सुत्ने ओछ्यान सबै भिजे। तर दुःख गर्न छाडिनँ’, स्वरमा गह्रंगो स्वरमा बताउँछन्’, कुलदीप ।
‘बुढेसकाल लाग्यो, तर जिम्मेवारी अझै बाँकी छ’
कुलदीप अहिले ७० वर्ष पुगे, चार जना साना छोराछोरी छन्। जेठो छोरा १८ वर्ष पुगे, नौ कक्षामा पढ्दैछन्। अरु सन्तानलाई पनि उनले पढाइरहेका छन् ।
‘७० वर्षको भएँ । ठिकै उमेरमा बिवाह गरे पनि सन्तान ढिलो गरी जन्मिए ।’, उनी सुनाउँछन्, ‘तर म मर्नु हुँदैन, काम गर्नैपर्छ। बच्चाहरूको पढाइ अधुरो राख्दिनँ।’
उसो त सपना एकातिर उनका दुःख अर्कातिर छन् । दैनिक आम्दानी कहिले २००, कहिले ४००। कहिले त त्यो पनि हुँदैन।
‘किताब, कापीको दर ५–१० रुपैयाँ किलो, फलाम ३० रुपैयाँमा किनेर ४० मा बेचिन्छ। कहिले फाइदा, कहिले घाटा। तर काम ।’, नरोकिने उनी बताउँछन् ।
काठमाडौं महानगरले पारेको पीर
‘अहिले महानगरले हामीलाई काम गर्नै नदिने गरी बाधा गर्न थालेको छ,’ उनी गहभरि आँसु पार्दै सुनाउँछन्।, ‘हामीलाई फोहोर संकलन नगर भन्न थालेका छन्। पटक धम्की र आक्रमण पनि हुन थालेको छ । महानगरले कुलदीप बसेको टहरा तीन पटक भत्काइदिएको थियो।’
‘हामी देशका नागरिक हौं कि होइनौं ? हामीले काम गर्न नपाउने ? यही देशमा श्रम गरेर खान नपाउने ? , आफ्नै देशमा काम गरी खान पाइँदैन भने कहाँ जानु ?’, उनी प्रश्न गर्छन् ।
गाउँ फर्कन्छौं, तर…
उनी भन्छन्, ‘गाउँ फर्किन्छौं, तर राज्यले गाउँमा हाम्रो लागि कामको व्यवस्था गरी दिए मात्र । गाउँमा घर र खाने व्यवस्था गरिदिए मात्र। नभए आन्दोलन गर्छौं। काठमाडौं छाड्न कर गरे, हामी आन्दोलन सुरु गर्छौं । हाम्रो श्रमको मूल्य छैन आफ्नै देशमा शरणार्थीसरह व्यवहार गरेका छन्, यस्तै गरियो भन्ने हामी आन्दोलन गर्न पछि हट्दिनौं।’
काठमाडौंबाट कदापी बाहिर नजाने अडानमा उनी दृढ छन् । आफ्नै देशमा काम गरी खान पाउनु आफ्नो अधिकार भएकाले महानगरको ज्यादती ठिक नभएको उनको बुझाई छ ।
‘के हामी यो देशको नागरिक होइनौं ? हामीलाई आफ्नै देशमा शरणार्थी जस्तो व्यवहार गरिएको छ । हामी कदापि सहदैनौं । यस्तै खाले व्यवहार गरे हामी आन्दोलनमा जान बाध्य हुन्छौं ।’, उनले चेतावनीको स्वरमा भने ।
कुलदीप रायको कथा केवल एक व्यक्तिको संघर्ष होइन, यो हजारौं श्रमिकहरूको आवाज हो। फोहोर संकलन गर्ने यस्ता व्यक्तिहरू नै शहरलाई सफा राख्न दिनरात जुटिरहेका छन्। तर उनीहरूकै जीवन झन् फोहोर जस्तै बेवास्तामा परेको छ।
राज्य र समाजले कुलदीप र उनीजस्ता व्यक्तिको श्रमलाई सम्मान गर्नुपर्छ किनकि विकासको जग इट्टामा मात्र होइन, श्रमिकको पसिनामा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्