images
images
images

ऋणीबाट बढी ब्याज असुलेपछि एनआइसी एसियामाथि कारबाही, सिटिजन्स बैंकका सीईओलाई चेतावनी

images

पूर्वाधार वाच, काठमाडौं । 

ऋणीबाट बढी ब्याज असुल गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगर्ने संस्थाहरूलाई आर्थिक जरिवाना तथा सचेत गराएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशन विपरीत एनआइसी एसिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएपछि राष्ट बैंकले कारबाहीको डण्डा चलाउनु परेको उल्लेख गरेको छ ।

यस्तै एनआइसी एसिया बैंकले ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौता पत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर (स्थिर/परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायत व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको भन्दै सचेत समेत गराएको छ ।

त्यसैगरी केन्द्रीय बैंकको कारबाहीमा परेको अर्को वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनल हो । राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पनि सचेत गराएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशन विपरीत सिटिजन्सले सीईओको करार सम्झौता संशोधन गरी सुविधा वृद्धि गरेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी सिटिजन्स फास्ट ट्र्याक लोन अन्तर्गत कर्जा उपयोगका सम्बन्धमा आन्तरिक लेखा परीक्षकबाट विस्तृत अध्ययन गर्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेपछि सिटिजन्स बैंक सञ्चालक समितिलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै सिटिजन्स बैंकले ब्याजदर अन्तर गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुक्तानी तोकिएको समय अवधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद बढाइएका कर्जाहरूमा एजेन्सी अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, चालु पूँजीसम्बन्धी मार्गदर्शन २०७९ मा भएका व्यवस्था पूर्णरूपमा पालना नगरेको समेत केन्द्रीय बैंकले औंल्याएको छ ।

बैंकले तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोर्टिङ समेत गरेपछि सिटिजन्स बैंक सीईओलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्