पूर्वाधार वाच, रामेछाप ।
निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीको कारण रामेछाप नगरपालिका–३ साँघुटारको तल्लो बेँसीको बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।
आयोजनाले कमेरो माटो रहेको सो क्षेत्रमा सडक बनाउँदा निस्किएको माटो बस्तीको माथिबाट खसालेर पानी नकटाई त्यतिकै छाडिदिँदा पहिरोले पुरै गाउँ नै छोप्ने अवस्थामा पुगेको स्थानीय पूर्णबहादुर महतले बताए ।
सो बस्तीको माथि सडकमा लगाइएको ग्याभिनवाल सबै भत्किएर पहिरो गएको छ । माथिबाट बगेको पहिरोले पेल्दा बस्तीको जमिन धाँजा फाटेको छ भने एउटा घर समेत भत्किएको महतले बताए ।
यस विषयमा सडक आयोजना, नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको उनले बताए । पहिरोको जोखिमले वर्षाको समयमा घर छाडेर अन्यत्रै बस्नु परेको उनको भनाइ छ । सडकले खानेपानी, कुलो, बस्ती सबैमा क्षति पु-याएको उनले बताए । सडकले फालेको माटोको कारण डेढ सय रोपनी बढी खेत पुरिएको उनको भनाइ छ ।
अन्यत्र बासको व्यवस्था हुनेहरू अन्त हिँडे पनि आफ्नो कतै जाने ठाउँ नहुँदा जोखिम मोलेरै बस्नु परेको सो बस्तीकी ज्ञानकुमारी खड्काले गुनासो गरिन् ।

क्षति हुँदा पनि कसैले नहरेको उनको गुनासो छ । घरमाथि चिरा चिरा परेर फुटेको छ, अन्त जाने ठाउँ छैन, सधैँ डरै डर छ, राति सुत्दा उज्यालो हुन्छ कि हुँदैन भन्ने डर छ’, उनले भनिन् ।
गाउँ पुरै धाँजा फाट्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय रमिला महतको गुनासो छ । ‘घरहरू जोखिममा छन्, खेतमा कुलो छैन, सडकले कुलो सबै पुरिदिएको छ, भएको खेत सुक्खा लागेको छ’, उनले भनिन् ।
सडक आयोजनाका प्रमुख ईश्वर कार्कीले सो ठाउँमा कमेरे माटो भएको र पानी पनि निस्किएको कारण समस्या भएको बताउँछन् । सो ठाउँमा बस्तीमा पानी नझर्ने गरी पानी कटाउन निर्माण कम्पनीलाई निर्देशन दिएको उनले बताए । भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।
सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने सर्तमा सम्झौता गरिएको थियो । सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम सम्पन्न नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थपिएको छ ।
समयमा काम नगर्दा सडक र सडक आसपासको क्षेत्र अस्तव्यस्त भएको छ । रामेछाप र ओखलढुङ्गा जोड्न सो सडक बिग्रिएर अहिले यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ । जसले गर्दा वर्षाको समयमा एम्बुलेन्स समेत बारम्बार रोकिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्