images
images
images

सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौं महानगर र टेलिकमबीच सम्झौता

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौं प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ ।

यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि सेवा उपलब्ध गराउनेछ ।

सीसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ ।
त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ ।

महानगरपालिकाले सेवा विस्तार गर्न चाहेमा टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेछ । सम्झौता अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा आउने विश्वाश व्यक्त गरे ।

टेलिकमसँग यसअघि नै अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सीसीटिभीका दृश्यहरु प्राप्त गर्न सक्ने अवस्था रहेको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।

सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरु महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पु¥याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यस अघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटिभी जोड्न सकिनेछ ।

यसरी प्रणालीबाट निगरानी कक्षमा प्राप्त दृश्यहरुको गोपनीयता महानगरपालिकाले कायम राख्नेछ । काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्