पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए)ले साइबर सेक्यूरिटी सम्बन्धी पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याएपछि नेपाली इन्जिनियर तथा आर्किटेक्ट्सहरुमा उत्साह देखिएको छ । एशोसिएसनले साइबर सेक्यूरिटी सम्बन्धी सिलबेस निर्माण गरी पहिलो पटक शनिबार ७ दिने तालिम समेत सम्पन्न गरेको छ ।
साइबर रेजिलियन्स इन इन्जिनियरिङको लक्ष्यसहित सञ्चालन भएको तालिमको समापनमा बोल्दै एशोसिएसनका अध्यक्ष इ. सुवासचन्द्र बरालले साइबर सेक्यूरिटी अपस्किलिङ तालिमले इन्जिनियरहरुको क्षमता वृद्धिमा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।
उनले आफ्नो कार्यकालमा महत्वपूर्ण कामका रुपमा साइबर सेक्यूरिटी सम्बन्धी सिलेबस निर्माण भएकोप्रति खुशी समेत व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरुले समेत उक्त तालिम निकै फलदायी रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले तालिम समापनका क्रममा बोल्दै सरकारले साइबर सुरक्षालगायतका विषयमा कानुनी रुपमा स्पष्टताको लागि नीतिगत पहल गरिरहेको उल्लेख गर्दै इन्जिनियर्स एशोसिएसनले साइबर सेक्यूरिटीका सम्बन्धमा चालेको कदमप्रति अत्यन्तै खुशी लागेको बताए ।
उनले नेपाल इन्जिनियर्स एशोसिएसन भौतिक संरचना निर्माणमा मात्र नभई साइबर सेक्यूरिटी लगायतमा समाजमा उब्जिरहेको नयाँ प्रविधिजन्य परिवेशप्रति उत्तिकै सचेत र जिम्मेवार रहेकोमा धन्यवाद समेत दिए ।
उक्त तालिममा नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतका महत्वपूर्ण निकायले एशोसिएसनको कदम सहयोग गरेको उक्त सात दिने तालिम सदस्य सचिव इ. सुजन श्रेष्ठले जानकारी दिए ।
इ. विजय कुमार रोयको नेतृत्वमा राजकुमार महर्जन, कृष्णराम धुजु, रोजा किरण बासुकला, मुकेश तिवारी, कृष्णप्रसाद भण्डारी, यसमिनी भट्टराई, सुवास खड्का, चिरन्जिवी अधिकारी, बन्दना शर्मा, शरद घिमिरे, सुरन झासहितलगायत विभिन्न क्षेत्रबाट १८ जना विज्ञहरुले सिलेबस (पाठ्यक्रम) निर्माणमा सहयोग गरेका थिए ।
विश्वव्यापी साइबर आक्रमण प्रवृत्ति, जोखिम न्यूनीकरण प्रविधि तथा सुरक्षित डिजिटल इकोसिष्टम निर्माणबारे रणनीतिक दृष्टिकोण लगायतका महत्वपूर्ण विषयमा सात दिने तालिम केन्द्रीत रहेको थियो ।
तालिममा समावेश उच्चस्तरीय प्राविधिक सत्र, स्रोत व्यक्तिहरूको सक्रिय भूमिका र सहभागीहरूको उत्साहजनक सहभागिताले इन्जिनियरिङ क्षेत्रको साइबर सुरक्षा क्षमतावृद्धिमा महत्वपूर्ण उपलब्धी हासिल भएको एशोसिएसनले बताएको छ ।





तस्बिर सौजन्य : नेपाल इन्जिनियर्स एशोसिएनस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्