images
images
images

एमाले केन्द्रीय सदस्यमा अनुभूतिबम नेपालीको उम्मेदवारी घोषणा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेता नेपालीले शनिबारदेखि काठमाडौंमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेता नेपालीले दलित समुदायका मुद्दालाई पार्टी र राज्यको नजरमा स्थापित गर्न एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

‘मैले पार्टीमा झण्डै तीन दशकदेखि काम गरिरहेको छु । विद्यार्थी बेलादेखि संगठनमा लागेर, दलित, महिला र युवाको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव मसँग छ, समुदायसँग जोडिएर जनताको चाहना र भावनाबमोजिम चल्नसक्ने पार्टी बनाउनुपर्छ भनेर लागिरहेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारी त्यसैकालागि हो ।’ उनले दलित समुदायमाथि राज्यले गर्दै आएको विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफू निरन्तर लड्दै आएको भन्दै त्यस्तो विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफूले भूमिका खेल्ने बताए ।

तेह्रथुमका नेता नेपाली जिल्लाको राजनीतिमा प्रभावशाली नेता हुन् । गैरसरकारी संघसंस्था र सामाजिक क्षेत्रमार्फत नेपालीले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । ०५३ सालमा नेकपा एमालेको सदस्यता लिएका नेपाली हाल मुक्ति समाज नेपालको केन्द्रीय महासचिव हुन्। उनी पार्टीको कोशी प्रदेश सचिवालय सदस्य समेत छन्।

०५५ सालमा उनी अनेरास्ववियुको जिल्ला अध्यक्ष भए । त्यसअघि ०५२ सालमै मुक्ति समाजको जिल्ला सचिव, तत्कालीन कोशी अञ्चल कमिटी सचिब भएका थिए । उनले मुक्ति समाजको केन्द्रीय कमिटी सदस्य, सचिब र उपाध्यक्षमा बसेर काम गरिसकेका छन् ।

त्यस्तै, २०४६ सालको परिबर्तन सगै अनेरास्ववियुमा आबद्ध हुँदै एमालेको वस्ति, वडा तहसम्मै काम गर्दै आएका उनी ०६८ सालदेखि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य र कोशी अञ्चल समन्वय कमिटी सदस्यमा रही मुक्ति समाजको इन्चार्जको रूपमा काम गरिसकेका छन् । दलित समुदायको सामान्य परिवारमा ०३० सालमा जन्मिएका नेपाली स्नातकोत्तर हुन् ।

८औँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका नेपाली केन्द्रीयस्तरमा भने अवसर नपाएका नेता हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्