पूर्वाधार वाच, काठमाडौं ।
पूव शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । उनले आइतबार भृकृटीमण्डपस्थित महाधिवेशन बन्दसत्रस्थल पुगेर खुला महिलातर्फ उम्मेदवारी दर्ता गरेकी हुन् ।
काठमाडौंमा जारी एमालेको ११ औं महाधिवेशनमा पार्टी नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित देखिएपछि दुई कित्तामा विभाजित भएर नेताहरुले प्रतिस्पर्धा गरिरहेका छन् । संस्थापनबाट अध्यक्ष केपी शर्मा ओलीले दोहोरिन चाहेका छन् भने तत्कालीन वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले समेत अध्यक्षको दाबेदारीसहित उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यसपटक ओली र पोखरेल समूहबीच प्यानल नै खडा गरेर नेतृत्वको लागि प्रतिष्पर्धा चलिरहँदा नेतृ झाँक्री केपी शर्मा ओलीको प्यानलमा समेटिएकी छन् । उनी केपी शर्मा ओली प्यानलको खुला महिलातर्फको ३९ औं नम्बरमा अटाएकी छन् ।
यसैबीच नेतृ झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने समेत बताएकी छन् । भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको र त्यही अनुसार काम गर्ने चाहना रहेको बताइन् ।
‘अहिले पनि त्यही हो । पार्टीले जे प्रकारको जिम्मेवारी दिन्छ त्यही प्रकारको जिम्मेवारी बोक्ने । त्यसैमा आफूले आफ्नो आफ्नो क्यालिबर लगाउने । त्यहाँ वेल पर्फर्म गर्ने । त्यसकै आधारमा अगाडि बढ्ने ।,’ उनले भनिन् ।
एमाले महाधिवेशनमा उम्मेदवारी दिने समय सकिएको छ । यद्यपि भोलि मंगलबार हुने मतदानको समय सारेको छ । ११ औं महाधिवेशनको नेतृत्व चयनको लागि ११ बजेदेखि मतदानको समय तोकिएको थियो । तर मतदानको समय अब १२ बजेदेखि ६ बजेसम्मको लागि तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत ६ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तयारी छ । साढे ६ बजेसम्म उम्मेदवारमाथि उजुरी, ६ः४५ सम्म छानबिन र निर्णय, ८ बजेसम्म उम्मेदवारी फिर्ता र साढे ८ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्