images
images
images

स्नो रिभर्सको पाँचौँ साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

images

पूर्वाधार वाच, काठमाडौं ।

स्नो रिभर्स लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा काठमाडौंको भगवती बहाल, नक्सालस्थित लिसारा रिसेप्सन्समा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्दै विभिन्न महत्वपूर्ण प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

१० प्रतिशत बोनस शेयर वितरण

साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरबाट शेयरधनीले कुल ९ लाख ३७ हजार ५ सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्तावसमेत पारित भएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३ करोड १२ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा शेयर खरिद–हस्तान्तरणसम्बन्धी प्रबन्धपत्रका विभिन्न व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

सुपर कावेली खोला एबाट नियमित विद्युत उत्पादन

कम्पनीले प्रवर्द्धन गरेको १३.५ मेगावाट क्षमताको सुपर कावेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिइसकेको छ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले नियमित विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा आयोजनाले सम्झौताअनुसार उत्पादन गर्नुपर्ने विद्युतको तुलनामा ८८.२० प्रतिशत उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । व्यावसायिक उत्पादनबाट प्राप्त विद्युत बिक्री आम्दानीले कम्पनीको वित्तीय अवस्थामा योगदान पुर्‍याएको व्यवस्थापनको भनाइ छ ।

दुई जलविद्युत आयोजनामा १८ करोड ७५ लाख लगानी

स्नो रिभर्सले आईपीओबाट प्राप्त रकमलाई नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने रणनीति अघि बढाएको छ । सोहीअनुसार कम्पनीले भोटेकोशी–५ जलविद्युत आयोजनामा ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र म्याग्दीखोला जलविद्युत आयोजनामा ९ करोड ३७ लाख ५० हजार रुपैयाँ लगानी गरेको जनाएको छ ।

कालिका इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४६ मेगावाटको भोटेकोशी–५ आयोजना सिन्धुपाल्चोकको गाह्रबिसे क्षेत्रमा तथा हाइड्रो भिलेज लिमिटेडद्वारा प्रवर्द्धित ६५ मेगावाटको म्याग्दीखोला आयोजना म्याग्दीको धौलागिरी गाउँपालिकामा रहेको छ ।

२ अर्ब ७७ करोडको स्थिर सम्पत्ति

सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको शेयर पूँजी ९३ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १० करोड ६८ लाख ११ हजार २६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण १ अर्ब ८२ करोड १८ लाख ३७ हजार ५१४ रुपैयाँ, स्थिर सम्पत्ति २ अर्ब ७७ करोड २९ लाख ५० हजार १८५ रुपैयाँ र चालु सम्पत्ति २३ करोड ५८ लाख ५५ हजार ४८२ रुपैयाँ रहेको जनाइएको छ ।

आईपीओपछि बढेको चुक्ता पूँजी

स्नो रिभर्सले आयोजना प्रभावित क्षेत्र तथा सर्वसाधारणका लागि कुल चुक्ता पूँजीको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । आईपीओपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँबाट बढेर ९३ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।

कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ भदौ ११ गते स्थापना भएको स्नो रिभर्स २०७९ असार ३ गते पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले जलविद्युत आयोजना विकास, निर्माण तथा सञ्चालन गर्दै ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।

विपद् प्रभावितका लागि १० लाख सहयोग

यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

सभामा कम्पनीको वर्तमान वित्तीय अवस्था, विद्युत उत्पादन, नयाँ जलविद्युत आयोजनामा लगानी तथा आगामी व्यवसायिक रणनीतिबारे समेत छलफल भएको थियो । कम्पनीले आगामी दिनमा ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादन क्षमता र वित्तीय आधार थप मजबुत बनाउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्