images
images
images

सिद्धिकाली साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सदस्यको आर्थिक उन्नतिमा जोड

images

पूर्वाधार वाच, भक्तपुर ।

सिद्धिकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका–स्थित सिद्धिकाली चोकको शुभश्री ब्याङ्क्वेटमा शनिबार आयोजित सभामा हरिकृष्ण बल्ल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिका विषयमा छलफल गरिएको थियो । सो अवसरमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट प्रस्तुत गरी छलफल गरिएको थियो ।

आर्थिक प्रतिवेदन र संस्थागत सुशासनमा जोड

साधारण सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका विषयमा छलफल गरी आवश्यक निर्णय गरिएको जनाइएको छ ।

त्यसैगरी, सञ्चालक समिति तथा विभिन्न उपसमितिबाट भएका निर्णय अनुमोदन, शेयर लाभांश वितरण र संरक्षित पुँजी कोष फिर्तासम्बन्धी विषय पनि सभाको कार्यसूचीमा समेटिएका थिए । सभाले संस्थाको वित्तीय अवस्था र विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरेको थियो ।

बचत परिचालन र उत्पादनमूलक लगानीलाई प्राथमिकता

‘सुरक्षित र सुनिश्चित भविष्यका लागि सिद्धिकाली बचत’ भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न बचत परिचालन, उत्पादनमूलक क्षेत्रमा लगानी र स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।

स्थानीय स्रोत, साधन, सीप, प्रविधि तथा पुँजीको प्रभावकारी उपयोगमार्फत सदस्यहरूको आर्थिक उन्नतिमा योगदान पुर्‍याउने लक्ष्य संस्थाले लिएको छ । नियमित बचत गर्ने बानीको विकास, पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा लगानीका अवसर विस्तार गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको संस्थाले जनाएको छ ।

शैक्षिक उपलब्धि हासिल गर्ने सदस्यलाई सम्मान

साधारण सभाको अवसरमा सदस्यहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमसमेत समावेश गरिएको थियो । शैक्षिक वर्ष २०८३ मा एसईई उत्तीर्ण गरेका बाल बचत सदस्यलाई सम्मान गर्ने तथा उत्कृष्ट अंक हासिल गर्ने एक जना बाल बचत सदस्यलाई ‘सिद्धिकाली शिक्षा सम्मान’ प्रदान गर्ने कार्यक्रम राखिएको थियो ।

यसैगरी, शैक्षिक वर्ष २०८२ मा विभिन्न संकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेका सदस्यलाई सम्मान गर्ने र बाल बचत सदस्यलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि समावेश गरिएको थियो । संस्थाले ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै परम्परागत थिमी भैलः कार्यक्रममा योगदान पुर्‍याउने गुरुजन तथा कलाकारलाई समेत सम्मान गर्ने कार्यक्रम राखेको थियो ।

सदस्यको हित र सामाजिक उत्तरदायित्वमा जोड

साधारण सभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सदस्यहरूको आर्थिक हित संरक्षण, सामाजिक उत्तरदायित्व निर्वाह तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।

सदस्यको सक्रिय सहभागिता, नियमित बचत र उत्पादनमूलक लगानीलाई प्रोत्साहन गर्दै सहकारीको सेवा थप प्रभावकारी बनाउने दिशामा साधारण सभाले मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्