images
images
images

स्थापित योजना सहकारीको १७औँ साधारण सभा सम्पन्न, ३८ करोडभन्दा बढी कारोबारको लक्ष्य

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदीप भट्ट्को अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका प्रतिनिधि, पूर्वसञ्चालक तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सभामा संस्थाको आर्थिक अवस्था, आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, सदस्यलाई उपलब्ध गराइने सेवा र संस्थागत सुशासनका विषयमा छलफल गरिएको थियो ।

३८ करोड ३० लाखभन्दा बढी कारोबार गर्ने लक्ष्य

साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रमअनुसार संस्थाले कुल कारोबार तथा सम्पत्ति ३८ करोड ३० लाख ९१ हजार ९५३ रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ ।

त्यसैगरी, संस्थाको शेयर पुँजी ४ करोड ९० लाख ५५ हजार ८०० रुपैयाँ र जगेडा कोष १ करोड ८४ लाख १० हजार ३९१ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरिएको छ । संस्थाको वित्तीय आधार सुदृढ बनाउँदै सदस्यहरूको आर्थिक हित संरक्षण गर्ने उद्देश्यले बजेट तथा कार्यक्रम अघि सारिएको जनाइएको छ ।

प्रस्तुत वित्तीय योजनाअनुसार संस्थाले निक्षेप दायित्व २५ करोड १४ लाख ४६ हजार ७८२ रुपैयाँ र कर्जा लगानी २५ करोड ३३ लाख ९० हजार ९०१ रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । साथै, उक्त आर्थिक वर्षमा करपछिको खुद नाफा २८ लाख ५२ हजार ४६ रुपैयाँ आर्जन गर्ने अनुमान गरिएको छ ।

सदस्यको बचत सुरक्षा र वित्तीय अनुशासनमा जोड

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रदीप श्रेष्ठले विश्वव्यापी आर्थिक मन्दी, बैंक तथा वित्तीय क्षेत्रमा देखिएको शिथिलता र राजनीतिक तथा सामाजिक उतारचढावका कारण सहकारी क्षेत्रले विभिन्न चुनौती सामना गर्नुपरेको बताए ।

प्रतिकूल परिस्थितिका बाबजुद सदस्यहरूको विश्वास, प्रभावकारी व्यवस्थापन र आन्तरिक वित्तीय अनुशासनका कारण संस्था सुधारको दिशामा अघि बढिरहेको उनको भनाइ थियो । सदस्यहरूको बचत सुरक्षा, संस्थाको दिगो विकास र वित्तीय पारदर्शितालाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे ।

संस्थाले कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउने, भाखा नाघेका कर्जा असुलीमा तीव्रता दिने तथा वित्तीय कारोबारलाई व्यवस्थित गर्न आन्तरिक नीति र नियमको प्रभावकारी कार्यान्वयन गर्ने योजना अघि सारेको छ ।

डिजिटल प्रविधिमार्फत सेवा विस्तार गरिने

सदस्यलाई छरितो, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने भएको छ ।

यसअन्तर्गत ‘लाइभ भौचर प्रिन्ट’ तथा ‘डिपोजिट भौचर प्रिन्ट मेसिन (पीओएस डिभाइस)’ प्रयोगमा ल्याउने योजना रहेको छ । साथै, क्यूआर कोड र मोबाइल बैंकिङ सेवाको दायरा विस्तार गरी सेवा प्रवाहलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य संस्थाले लिएको छ ।

प्रविधिमैत्री सेवाको विस्तारसँगै सदस्यलाई बचत तथा वित्तीय कारोबार गर्न सहज बनाउने र संस्थाको सेवा प्रणालीलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

बचत तथा कर्जा योजनालाई विविधीकरण गरिने

संस्थाले सदस्यको आवश्यकतालाई ध्यानमा राख्दै बचत तथा कर्जा सेवामा विविधता ल्याउने नीति अघि सारेको छ । यसअन्तर्गत दैनिक ५०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जम्मा गर्न सकिने क्रमिक बचत योजना तथा आवधिक बचत योजनालाई प्राथमिकता दिइनेछ ।

त्यसैगरी, घरजग्गा धितो कर्जा, व्यावसायिक कर्जा तथा अल्पकालीन कर्जा सेवामार्फत सदस्यको आर्थिक गतिविधिलाई सहयोग गर्ने योजना रहेको छ ।

कर्जा लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन ऋण प्रवाह तथा असुली प्रक्रियामा आवश्यक मापदण्ड पालना गर्ने र कर्जाको प्रभावकारी अनुगमनमा जोड दिने संस्थाले जनाएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका कार्यक्रम

संस्थाले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । यसअन्तर्गत शेयर सदस्यका सन्तानमध्ये एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी, ‘क’ वर्गका अपाङ्गता भएका सदस्य तथा ज्येष्ठ नागरिक शेयर सदस्यलाई स्वास्थ्य र सामाजिक सहयोग उपलब्ध गराउने योजना रहेको छ । यस्ता कार्यक्रमले सदस्यसँगको सम्बन्ध सुदृढ बनाउनुका साथै शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने अपेक्षा संस्थाले गरेको छ ।

साधारण सभाका प्रस्ताव सर्वसम्मतिले पारित

साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक बजेट तथा लेखापरीक्षकको प्रतिवेदनलगायत सभासमक्ष पेस गरिएका प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् ।

सभाको समापनका क्रममा संस्थाका कार्यकारी प्रमुख सन्दीप अधिकारी र सचिव डि.बी. ढकालले सदस्यहरूको बचत सुरक्षा, वित्तीय पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाले आगामी दिनमा वित्तीय अनुशासन, डिजिटल सेवा विस्तार, कर्जा व्यवस्थापन र सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै सहकारीलाई व्यवस्थित, विश्वसनीय तथा दिगो संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्