पूर्वाधार वाच, काठमाडौं ।
विश्व लगानीकर्ता सप्ताह–२०२६ (World Investor Week 2026) को अवसरमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज २१ गते काठमाडौंको थापाथलीस्थित इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पूँजी बजार, शेयर लगानी तथा वित्तीय सचेतनासँग सम्बन्धित विषयमा जानकारी प्रदान गरिएको थियो ।
डिजिटल ठगी र लगानी जोखिमबारे सचेतना
विश्व लगानीकर्ता सप्ताह–२०२६ को मुख्य विषयवस्तुमध्ये Investor Resilience, Digital Deception र Scam Alert लाई केन्द्रमा राख्दै कार्यक्रममा लगानी गर्दा अपनाउनुपर्ने सावधानी, डिजिटल माध्यमबाट हुन सक्ने ठगी तथा गलत सूचनाबाट जोगिने उपायबारे छलफल गरिएको थियो ।
साथै, पूँजी बजारमा लगानी गर्नुअघि आवश्यक सूचना तथा कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गर्नुपर्ने, जोखिम मूल्यांकन गरेर लगानीसम्बन्धी निर्णय लिनुपर्ने तथा सामाजिक सञ्जालमा आउने अप्रमाणित लगानीसम्बन्धी सूचना र प्रलोभनबाट सचेत रहनुपर्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।
नेपाल धितोपत्र बोर्डले पनि विश्व लगानीकर्ता सप्ताह–२०२६ का क्रममा लगानीकर्तालाई डिजिटल ठगी, सामाजिक सञ्जालमार्फत फैलिने अप्रमाणित सूचना, डीपफेक तथा एआईमार्फत सिर्जित सामग्रीबाट सावधान रहन आग्रह गरेको छ ।
विद्यार्थीलाई वित्तीय साक्षरता
कार्यक्रममा सहभागी विद्यार्थीलाई शेयर तथा पूँजी बजारमा लगानीका आधारभूत पक्ष, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानी व्यवहारका विषयमा जानकारी दिइएको थियो । कार्यक्रमले युवा पुस्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै लगानीसम्बन्धी निर्णय गर्दा आवश्यक जानकारी र विश्लेषणको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे तथा सहायक प्रबन्धक सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन तथा सहभागीका प्रश्नहरूको जवाफ दिएका थिए ।
विश्व लगानीकर्ता सप्ताह–२०२६ नेपालमा असोज १९ देखि २५ गतेसम्म सञ्चालन भइरहेको छ । यस वर्षको अभियानको मूल सन्देश “Invest in Your Future. Protect It Today.” रहेको छ भने लगानीकर्ता उत्थानशीलता, डिजिटल छल तथा ठगीबाट बच्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित मर्चेन्ट बैंकिङ संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्