पूर्वाधार वाच, ललितपुर ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको विगतको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम, बजेट तथा संस्थागत विकासका प्राथमिकता तय गरेको छ ।
सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्था, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी कार्यदिशामाथि छलफल भएको थियो । सो अवधिमा संस्थाले २ अर्ब ८७ करोड २ लाख ५४ हजार ४१७ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
संस्थाको कार्यक्षेत्र ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनसम्म विस्तार भएको छ भने हाल ४९ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।
एकीकरणदेखि लाभांशसम्मका प्रस्ताव
साधारण सभामा विभिन्न कोषको रकम जगेडा कोषमा रकमान्तर गर्ने, सहकारी एकीकरण, शेयर लाभांश, संरक्षित पूँजी फिर्ता कोष तथा कर्मचारी बोनससम्बन्धी प्रस्तावमाथि छलफल गरिएको थियो । साथै कर्जा कारोबारलाई थप व्यवस्थित बनाउने तथा संस्थाको आन्तरिक नीति, नियमावली र कार्यविधि समयानुकूल संशोधन गर्ने विषय पनि अघि बढाइएको छ ।
सदस्य तथा सदस्य परिवारका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत सभामा छलफल भएको थियो ।
डिजिटल सेवालाई प्राथमिकता
पञ्चशीलले ‘प्रविधिमा सहकारी’ भन्ने अवधारणाअनुसार सञ्चालनमा ल्याएको Panchashil Smart Mobile Banking लाई आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ । मोबाइल बैंकिङमार्फत रिचार्ज, इन्टरनेट तथा टेलिभिजन भुक्तानी, फन्ड ट्रान्सफर, अन्तरबैंक रकम स्थानान्तरण, मिनी स्टेटमेन्ट, क्यूआरबाट रकम झिक्ने, हवाई टिकट, बीमा भुक्तानी तथा मेरो शेयर र डिम्याट नवीकरणलगायतका सेवा उपलब्ध हुँदै आएका छन् ।
सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै सदस्य सेवा, प्रविधि आधुनिकीकरण, वित्तीय व्यवस्थापन, सुशासन र कर्मचारी क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
अध्यक्ष श्रेष्ठले सदस्यहरूको विश्वास, सहभागिता र सुझाव संस्थाको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारीलाई थप पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्