images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ साधारणसभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

images

पूर्वाधार वाच, काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । पारित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

३९ करोड ३० लाख रुपैयाँभन्दा बढी लाभांश

बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ । सो पूँजीको ४ प्रतिशत बराबर १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ ।

त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गर्ने प्रस्ताव पारित भएको छ । यसअनुसार बैंकले कुल करिब ३९ करोड ३० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ । बढेको पूँजीलाई बैंकले आगामी दिनमा वित्तीय सेवा विस्तार तथा पूँजीगत आधार थप मजबुत बनाउन उपयोग गर्ने जनाएको छ ।

६ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित

साधारणसभाले आगामी चार वर्षका लागि बैंकको ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ ।

संस्थापक सेयरधनी समूहबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नयाँ नेतृत्वले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, सेवा विस्तार तथा वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखेर बैंकलाई थप सबल बनाउने प्रतिबद्धता जनाएको छ ।

मर्जर तथा प्राप्तिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार

साधारणसभाले बैंकको रणनीतिक विस्तारसँग सम्बन्धित मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव सभाबाट पारित भएको हो ।

यसका साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट हुने परिवर्तनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने तथा ड्यु डिलिजेन्स अडिट (DDA) र समझदारीपत्र (MOU) सम्बन्धी विषयलाई समेत सभाले अनुमोदन गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षित वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ । बैंकले २०८२/८३ को वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै उक्त विवरणलाई साधारणसभाको प्रयोजनका लागि प्रस्तुत गरेको थियो ।

१०९ शाखा र ३० एटीएमबाट बैंकिङ सेवा

सांग्रिला डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ र यसको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा SADBL संकेतमा कारोबार हुँदै आएको छ ।

बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । शाखा तथा एटीएम सञ्जालसँगै डिजिटल तथा आधुनिक बैंकिङ सेवाको विस्तारमा समेत जोड दिँदै ग्राहकको पहुँचलाई थप सहज बनाउने बैंकको लक्ष्य रहेको छ ।

बैंकले आगामी दिनमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा प्रविधिमैत्री बैंकिङ सेवामा निरन्तर सुधार गर्दै प्रतिस्पर्धात्मक वित्तीय बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्