images
images
images
images

हिमालय ऊर्जा विकास कम्पनीको २६औँ साधारणसभा सम्पन्न, वित्तीय विवरण पारित

images

पूर्वाधार वाच, काठमाडौं ।

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षतामा काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा रहेको अर्पण ब्याङ्क्वेटमा आयोजित सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ ।

images

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिएको थियो । साथै, कम्पनीको वित्तीय अवस्था, सञ्चालनमा रहेका जलविद्युत् आयोजना, लगानी विस्तार तथा आगामी व्यावसायिक योजनाबारे सेयरधनीहरूलाई जानकारी गराइएको थियो ।

१९ मेगावाटका दुई आयोजनाबाट नियमित विद्युत् उत्पादन

कम्पनीले रामेछाप र दोलखाको सीमाक्षेत्रमा निर्माण गरेका १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत् आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती–२ जलविद्युत् आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन भइरहेको जनाएको छ ।

यी दुई आयोजनाको कुल जडित क्षमता १९ मेगावाट रहेको छ । कम्पनीले विद्युत् उत्पादन तथा बिक्रीमार्फत आम्दानी गर्दै जलविद्युत् क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहलाई रोयल्टीबापत कुल १ करोड १६ लाख ७ हजार ५१३ रुपैयाँ भुक्तानी गरेको विवरणसमेत सभामा प्रस्तुत गरिएको थियो ।

सुतीखोला जलविद्युत् आयोजनामा ८ करोडको सेयर लगानी

कम्पनीले आफ्नो व्यवसाय विस्तार तथा लगानी विविधीकरण गर्ने उद्देश्यले मनाङ जिल्लाको नासों गाउँपालिकामा निर्माणाधीन २१ मेगावाट क्षमताको सुतीखोला जलविद्युत् आयोजनामा ८ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको जनाएको छ ।

उक्त आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको तथा बैंकहरूसँग वित्तीय व्यवस्थापनसम्बन्धी प्रक्रिया (फाइनान्सियल क्लोजर) समेत पूरा भएको जानकारी सभामा गराइएको थियो । आयोजनाको निर्माण कार्य अघि बढिरहेको कम्पनीले जनाएको छ ।

ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने योजना

कम्पनीले आगामी दिनमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका सम्भावनायुक्त आयोजनाहरूमा लगानी विस्तार गर्ने रणनीति अघि सारेको छ । उपयुक्त नयाँ कम्पनी तथा आयोजनाको पहिचान गरी लगानी गर्ने र प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा जान सक्ने सम्भावना भएका कम्पनीहरूमा समेत लगानी गर्ने योजना रहेको सभामा जानकारी गराइएको थियो ।

यसका साथै कम्पनीले चिलिमे–त्रिशूली प्रसारण लाइनसम्बन्धी गतिविधिलाई समेत आफ्नो व्यावसायिक योजनासँग जोड्दै ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

हकप्रद सेयरबाट प्राप्त रकम ऋण भुक्तानीमा उपयोग

कम्पनीले हकप्रद सेयर निष्कासन तथा सेयर प्रिमियमबाट प्राप्त रकमलाई जलविद्युत् आयोजनासँग सम्बन्धित अल्पकालीन र दीर्घकालीन ऋण भुक्तानीमा उपयोग गरेको जनाएको छ ।

ऋण दायित्व व्यवस्थापन तथा वित्तीय स्रोतको प्रभावकारी परिचालनमार्फत कम्पनीको वित्तीय अवस्था थप सुदृढ बनाउने र आगामी लगानीका लागि आधार तयार गर्ने प्रयास भइरहेको सभामा जानकारी गराइएको थियो ।

सञ्चालकको पारिश्रमिक घटाउने प्रस्ताव अनुमोदन

सभाले सञ्चालकहरूको पारिश्रमिक घटाउने प्रस्ताव अनुमोदन गर्नुका साथै बाँकी कार्यकालका लागि स्वतन्त्र सञ्चालकको नियुक्तिसमेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमाथि समेत छलफल गरिएको थियो ।

सभाको समापनमा अध्यक्ष हरिप्रसाद पाण्डेले कम्पनीलाई निरन्तर सहयोग र समर्थन प्रदान गर्ने सेयरधनी, बैंक तथा वित्तीय संस्था, नियमनकारी निकाय, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा कम्पनीको व्यावसायिक गतिविधि थप प्रभावकारी बनाउँदै लगानी विस्तार र संस्थागत विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्