images
images
images

बाढी–पहिरो पीडितको सहयोगमा जुट्यो इक्यान, ३०औँ स्थापना दिवस समारोह स्थगित

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले १५ लाख १ हजार रुपैयाँ प्रारम्भिक राहत सहयोग गर्ने निर्णय गरेको छ । साथै, बाढी–पहिरोको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै आयोजना हुन लागेको ३०औँ इक्यान डे सेलिब्रेशन तथा वार्षिकोत्सव समारोह स्थगित गरिएको छ ।

इक्यानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भोटेकोशी क्षेत्रसहित रसुवा, नुवाकोट, गोरखा, चितवनलगायत विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण जनधनमा क्षति पुगेको भन्दै पीडितको सहयोगका लागि तत्काल राहत अभियानमा जुट्ने निर्णय गरिएको हो ।

३०औँ स्थापना दिवस समारोह अर्को सूचना नभएसम्म स्थगित

इक्यानले आगामी २०८३ भदौ १३ गते (२९ अगस्ट २०२६) काठमाडौंको होटल एभरेस्टमा आयोजना गर्ने तय गरेको ‘३०औँ ECAN Day Celebration’ तथा वार्षिकोत्सव समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

राष्ट्र प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा उत्सवभन्दा मानवीय सेवा, उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने भावनाका साथ कार्यक्रम स्थगित गरिएको इक्यानको भनाइ छ ।

इक्यानले आफ्नो ३०औँ स्थापना दिवसलाई समेत प्रभावित नागरिकको दुःखमा साथ दिने र विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

१५ लाख १ हजार रुपैयाँ प्रारम्भिक राहत सहयोग

इक्यानले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि प्रारम्भिक चरणमा विभिन्न स्रोतबाट सहयोग रकम जुटाएको छ । जसअनुसार—

  • इक्यान केन्द्रीय कोषबाट : १० लाख १ हजार रुपैयाँ
  • केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट : ५ लाख रुपैयाँ

यसरी कुल १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । उक्त रकम सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइने इक्यानले जनाएको छ ।

सदस्य तथा शैक्षिक क्षेत्रसँग सहयोगको अपिल

इक्यानले आफ्ना सम्पूर्ण सदस्य संस्था, शैक्षिक परामर्श व्यवसायी, विश्वविद्यालय तथा कलेज, शैक्षिक संस्थान, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, सञ्चारकर्मी, सरकार तथा सम्पूर्ण शुभेच्छुकलाई समेत विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि राष्ट्रिय राहत अभियानमा हातेमालो गर्न आग्रह गरेको छ ।

संघले व्यक्तिगत तथा संस्थागत रूपमा हुने आर्थिक, भौतिक र अन्य आवश्यक सहयोगमार्फत प्रभावित नागरिकको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आग्रह गरेको छ ।

‘उत्सव स्थगित भएको हो, सामाजिक दायित्व होइन’

इक्यानले संकटको समयमा संस्थागत सहयोगलाई पारदर्शी रूपमा राहत कोष तथा सम्बन्धित निकायमार्फत प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा पुर्‍याउने जनाएको छ ।

विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, प्रभावित परिवार तथा नागरिकप्रति इक्यान परिवारको पूर्ण सहयोग, ऐक्यबद्धता र साथ रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

इक्यानका महासचिव नवीन हुमागाईंले जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि एकजुट भई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्