पूर्वाधार वाच, ललितपुर ।
नेपालले सन् २०३० (वि.सं. २०८७ मध्य) सम्म बालविवाह अन्त्य गर्ने आफ्नो राष्ट्रिय प्रतिबद्धता पुनः दोहोर्याएको छ । ‘चाइल्ड म्यारिज फ्री नेपालः १०० दिने राष्ट्रिय अभियान’ औपचारिक रूपमा सम्पन्न भएसँगै बालविवाह उन्मूलनका लागि सञ्चालन भइरहेको प्रयासलाई थप सशक्त बनाइएको हो । अभियानको नेतृत्व जस्ट राइट्स फर चिल्ड्रेन नेपाल (JRCN) र राष्ट्रिय बालअधिकार परिषद् (NCRC) ले संयुक्त रूपमा गरेका थिए ।
सन् २०२४ देखि सञ्चालनमा रहेको ‘चाइल्ड म्यारिज फ्री नेपाल’ (CMFN) पहलअन्तर्गत सुरु गरिएको उक्त अभियान नेपाल सरकारको बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनासँग समन्वयमा अघि बढाइएको थियो । साथै, दिगो विकास लक्ष्य (SDG–५) अन्तर्गत लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यसँग पनि यो अभियान आबद्ध रहेको जनाइएको छ ।
देशव्यापी पहुँच र बहु–तहगत सहभागिता
आयोजकका अनुसार १५ फागुन २०८२ सम्म देशका ८९ स्थानीय तहमा प्रत्यक्ष रूपमा ८४ हजार ९९६ जनासम्म अभियानको पहुँच पुगेको थियो । यस अवधिमा २४१ वटा विद्यालयस्तरीय कार्यक्रम, ९५ वटा सामुदायिक छलफल तथा १७ वटा धार्मिक तथा सामुदायिक अगुवासँग संवाद कार्यक्रम सम्पन्न भएका थिए ।
अभियानका क्रममा हजारौँ व्यक्तिले बालविवाह रोकथामका लागि सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । संघीय, प्रदेश र स्थानीय तहमा नागरिक समाज संस्था, विद्यालय, युवा सञ्जाल, बालक्लब, धार्मिक अगुवा तथा समुदायस्तरीय समूहहरूको सक्रिय सहभागिता रहेको थियो । जनचेतना विस्तारका लागि विभिन्न सूचना तथा सञ्चार सामग्री वितरण गरिएको जानकारी दिइएको छ ।

सरकार र सरोकारवालाको सक्रिय सहभागिता
ललितपुरमा आयोजित समापन कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय बालअधिकार परिषद्का प्रतिनिधि, विकास साझेदार संस्था, सातै प्रदेशका साझेदार संगठन, युवा प्रतिनिधि तथा बालविवाहबाट प्रभावित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको प्रमुख आतिथ्यता रहेको जनाइएको छ ।
समारोहमा अभियानका उपलब्धि र सिकाइ प्रस्तुत गर्दै राष्ट्रिय रणनीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सरकार र नागरिक समाजबीच निरन्तर सहकार्य अपरिहार्य रहेकोमा जोड दिइयो । सहभागीहरूले अन्तरसरकारी समन्वय, निगरानी तथा जवाफदेहितालाई थप सुदृढ बनाउँदै २०३० सम्मको लक्ष्य हासिल गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
अभियानपछि पनि निरन्तरता
१०० दिने राष्ट्रिय अभियान औपचारिक रूपमा सम्पन्न भए पनि बालविवाह उन्मूलनका लागि दीर्घकालीन पहल निरन्तर जारी रहने आयोजकहरूले स्पष्ट पारेका छन् । सन् २०२४ देखि सञ्चालनमा रहेको ‘चाइल्ड म्यारिज फ्री नेपाल’ पहललाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने प्रमुख अभियानका रूपमा अघि बढाइएको जनाइएको छ ।
बालविवाह अन्त्य गर्नु बालअधिकार संरक्षण, लैङ्गिक समानता प्रवर्द्धन, शैक्षिक उपलब्धि सुधार तथा दिगो सामाजिक विकासका लागि अनिवार्य शर्तका रूपमा हेरिएको छ । अभियानको समापनले हालसम्मका उपलब्धिको समीक्षा गर्नुका साथै आगामी चरणका लागि सुदृढ र समन्वित कार्ययोजनासहित अघि बढ्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्