images
images
images

गोठाटारस्थित वैदिक विद्यापीठको नवनिर्मित भवन उद्घाटन, आधुनिक र व्यवहारिक शिक्षामा जोड

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको गोठाटारस्थित वैदिक विद्यापीठको नवनिर्मित भवन उद्घाटन समारोह आज सम्पन्न भएको छ । शनिबार आयोजित उक्त कार्यक्रममा रमेश नेपाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

समारोहको अध्यक्षता संस्थाका अध्यक्ष यादव पाण्डेले गरेका थिए । कार्यक्रममा विद्यालयकी उपप्रधानाध्यापक शर्मी बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको उद्देश्य, भावी योजना तथा समावेशी शैक्षिक दृष्टिकोणबारे जानकारी गराएकी थिइन् । प्रधानाध्यापक दीपा पाण्डेले विद्यालयको समग्र शैक्षिक गतिविधि तथा आगामी योजनाबारे प्रकाश पारिन् ।


आधुनिक, व्यवहारिक र मूल्यमा आधारित शिक्षा

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश नेपालले गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा संस्थागत पहलको आवश्यकता औंल्याउँदै वैदिक विद्यापीठले शिक्षाको क्षेत्रमा उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विद्यालयले परम्परागत शिक्षासँगै व्यवहारिक सिकाइ (प्र्याक्टिकल लर्निङ), खेलमुखी वातावरण, योग अभ्यास तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ । बदलिँदो समयसँगै विकसित हुँदै गएको प्रविधिलाई शिक्षण प्रक्रियामा समावेश गर्दै विद्यार्थीलाई जीवनोपयोगी सीप विकासमा केन्द्रित गर्ने लक्ष्य विद्यालयको रहेको छ ।

सर्वाङ्गीण विकासमा केन्द्रित योजना

अध्यक्ष यादव पाण्डेले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास, नैतिक शिक्षा र आधुनिक शिक्षण पद्धतिलाई सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । विद्यालयले शैक्षिक ज्ञानसँगै अनुशासन, मूल्य र सीप विकासलाई समान रूपमा महत्व दिने नीति अवलम्बन गरेको उनले बताए ।

पूर्वाधार सुदृढ, सिकाइ वातावरण सुधार

नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार थप सुदृढ हुने तथा विद्यार्थीहरूले अझ व्यवस्थित, सुरक्षित र आधुनिक वातावरणमा अध्ययन गर्न पाउने विश्वास लिइएको छ ।

सांस्कृतिक कार्यक्रमले थप आकर्षण

समारोहको सुरुवात विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममार्फत गरिएको थियो । विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा उपस्थित अतिथि, अभिभावक तथा स्थानीयवासीलाई आकर्षित बनाएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यालयले नवीन शिक्षण पद्धति, प्रविधिको प्रयोग र जीवनोपयोगी शिक्षालाई जोड दिँदै भविष्यका लागि सक्षम र सशक्त नागरिक उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्