पूर्वाधार वाच, काठमाडौं ।
नेपाल विद्यावारिधि संघको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। संघकी अध्यक्ष डा. सुन्दरी पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा संघका आजीवन सदस्य तथा विभिन्न क्षेत्रका विद्यावारिधि उपाधि प्राप्त विद्वानहरूको सहभागिता रहेको थियो।
सभामा संघको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो। सभाले संघका विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार-विमर्श गरेको थियो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डा. सुनिल बाबु श्रेष्ठले “Beyond the Riverbank: Rethinking Mountain Settlements & Infrastructures: Lessons and Policy Reforms After the Bhotekoshi Himalayan Tsunami” शीर्षकमा विशेष प्रस्तुति दिनुभएको थियो।
उहाँले प्रस्तुतिमा भोटेकोशी हिमालयन सुनामीपछिका अनुभव, हिमाली बस्तीहरूको पुनर्विचार, पूर्वाधार विकास तथा विपद्पछिका नीतिगत सुधारका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामा महासचिव डा. अलक बाबु उपाध्यायले संघको १८औँ वार्षिक साधारणसभाको संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघको स्थापना, संस्थागत विकास, सदस्यहरूको सहभागिता, अनुसन्धान तथा शैक्षिक गतिविधि र आगामी योजनाबारे जानकारी गराइएको थियो ।
अनुसन्धान र नीतिनिर्माणमा योगदान पुर्याउने लक्ष्य
संघले स्वदेश तथा विदेशमा रहेका विभिन्न विधाका विद्यावारिधि उपाधि प्राप्त व्यक्तिहरूबीच सम्बन्ध विस्तार गर्दै स्वतन्त्र तथा प्रभावकारी थिंक ट्यांकका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य अघि सारेको छ । समसामयिक राष्ट्रिय मुद्दामा प्राज्ञिक समुदाय, बौद्धिक वर्ग र सरोकारवालाबीच छलफल तथा बहस सञ्चालन गरी प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रियामा योगदान पुर्याउने संघको उद्देश्य छ ।
नेपाल विद्यावारिधि संघ सन् २००८ मा स्थापना भएको गैरनाफामूलक तथा गैरराजनीतिक संस्था हो । संघले विभिन्न विषयका विद्यावारिधि उपाधिधारीलाई एउटै साझा मञ्चमा जोड्दै वैज्ञानिक अनुसन्धान, ज्ञान उत्पादन, शैक्षिक गतिविधि तथा अनुसन्धानमूलक प्रकाशनलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । संघको आधिकारिक विवरणअनुसार अनुसन्धान संस्कृति विकास, प्राज्ञिक सहकार्य र समसामयिक विषयमा विचार आदानप्रदानका लागि मञ्च उपलब्ध गराउनु यसका प्रमुख उद्देश्य हुन् ।
तीन उपसमिति गठन
साधारणसभाले संघका विभिन्न गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक, कानुन तथा सदस्य व्यवस्थापन उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति र अनुसन्धान तथा विकास एवं प्रकाशन उपसमिति गठन गरिएको हो ।
यी उपसमितिमार्फत संस्थागत व्यवस्थापन, सदस्यसँगको समन्वय, कार्यक्रम सञ्चालन तथा अनुसन्धान र प्रकाशनसम्बन्धी कामलाई थप व्यवस्थित बनाउने लक्ष्य संघले लिएको छ ।
संघले आगामी दिनमा प्राज्ञिक ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतालाई सामाजिक तथा आर्थिक विकाससँग जोड्दै राष्ट्रिय नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ । विभिन्न विषयका विज्ञहरूको ज्ञान, अनुभव र अनुसन्धानलाई साझा मञ्चमा ल्याएर मुलुकका समसामयिक समस्या समाधान तथा विकासका योजनामा योगदान पुर्याउने संघको लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्