पूर्वाधार वाच, काठमाडौं ।
लोखिम सरोकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा समाजको वार्षिक गतिविधिको समीक्षा गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।
संघीय प्रतिनिधिसभा सदस्य तथा सोलुखुम्बुका सांसद प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका प्रतिनिधि, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत
साधारण सभामा संस्थाको विगत एक वर्षको गतिविधि समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै संस्थाको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनसमेत प्रस्तुत गर्दै आगामी दिनका योजना तथा कार्यक्रमबारे छलफल गरिएको जनाइएको छ ।
कार्यक्रममा सहभागीहरूले संस्थालाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै सामाजिक सरोकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
आरोही र उत्कृष्ट विद्यार्थीलाई सम्मान
साधारण सभाका अवसरमा नेपालका कान्छा सगरमाथा आरोहीसहित विभिन्न आरोहीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
संस्थाले सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वको सम्मान तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
नयाँ कार्यसमिति गठनसम्बन्धी छलफल
कार्यक्रममा वर्तमान कार्यसमितिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा पनि छलफल गरिएको थियो । संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने तथा सामाजिक सरोकारका विषयमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लोखिम सरोकार समाजले आगामी दिनमा सामाजिक सेवा, सरोकारका विषयमा जनचेतना अभिवृद्धि तथा समुदायसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्