पूर्वाधार वाच, काठमाडौं।
इन्द्रकमल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमी–२, लोकन्थली, भक्तपुरको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले असोज ३ गते शनिबार कौशलटारस्थित कौशलटार प्यालेसमा साधारणसभा आयोजना गरेको हो ।
संस्थाका सञ्चालक समिति अध्यक्ष प्रा. चेतोनाथ गौतमको अध्यक्षतामा सम्पन्न सभाको शुभारम्भ दीप प्रज्वलनबाट गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष हीरादेवी श्रेष्ठले राष्ट्रिय गान व्यवस्थापनसँगै स्वागत मन्तव्य राखेकी थिइन् ।
कर्जा असुली र वित्तीय स्थायित्वमा जोड
सभामा अध्यक्ष गौतमले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका विभिन्न चुनौतीका बाबजुद सदस्यहरूको संस्था, सञ्चालक समिति तथा व्यवस्थापनप्रतिको विश्वास कायम रहेको उल्लेख गरिएको थियो ।
अध्यक्ष गौतमले वर्तमान सञ्चालक समितिको कार्यकालको अन्तिम वर्ष सुरु भइसकेको जानकारी दिँदै विगतदेखि बाँकी रहेका तथा जटिल बनेका कर्जा कानुनी प्रक्रियाबाट असुल गर्ने योजना रहेको बताए ।
त्यसैगरी, संस्थामा रहेको गैरवित्तीय सम्पत्तिको उचित व्यवस्थापन गर्ने तथा विनाधितो प्रवाह भएका कर्जा असुल गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड, २०८२ ले तोकेको सीमाभित्र ल्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
नियमित मासिक बचत बढाउन सदस्यलाई आग्रह
अध्यक्ष गौतमले संस्थाको वित्तीय स्थायित्वका लागि सदस्यहरूले नियमित मासिक बचतमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
संस्थामा समग्र निक्षेपको समस्या नरहे पनि नियमित मासिक बचतको मात्रा अपेक्षाकृत न्यून रहेको उल्लेख गर्दै उनले सदस्यहरूलाई आफ्नो क्षमताअनुसार नियमित बचत गर्न आग्रह गरे । नियमित मासिक बचत सहकारीको दीर्घकालीन विकासको महत्वपूर्ण आधार रहेको उनको भनाइ थियो ।
आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत
साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश पौडेलले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, कोषाध्यक्ष टेकनाथ पोखरेलले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए ।
सचिव तथा ऋण उपसमितिका संयोजक कृष्णबहादुर बुढाथोकीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि शेयर सदस्यहरूले आफ्ना राय, सुझाव तथा मन्तव्य राखेका थिए ।
उत्कृष्ट कर्मचारी तथा असल बचतकर्ता र ऋणी सम्मानित
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीका रूपमा व्यवस्थापक जयन्ती आचार्यलाई सम्मान तथा प्रोत्साहन गरेको थियो ।
त्यस्तै, असल बचतकर्तातर्फ शान्ता गिरी र दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो । असल ऋणीतर्फ भरत भारती र गीता खत्रीलाई सम्मान गरिएको थियो ।
लेखापरीक्षक नियुक्तिदेखि प्रतिनिधि चयनसम्म
सभाले प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरू स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिएको छ ।
साधारणसभाका निर्णय प्रमाणित गर्न शेयर सदस्यहरूमध्येबाट १० जना प्रतिनिधि सदस्य समेत चयन गरिएको थियो ।
सभाको अन्त्यमा अध्यक्ष प्रा. चेतोनाथ गौतमले साधारणसभामा सहभागी शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै सभा समापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्